वृद्धवृद्धाको अनुभव, ज्ञान र सीप नयाँ पुस्तालाई मार्गदर्शन बन्नसक्छ

पवित्रा अधिकारी

मङ्लबार, असोज १४, २०७६

Reading Time: 5 minutes

वृद्धवृद्धाको अनुभव, ज्ञान र सीप नयाँ पुस्तालाई मार्गदर्शन बन्नसक्छ

सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरे अनुसार १९९१ अक्टोवर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो ।

१९९१ को १६ डिसेम्वरमा बसेको संयुक्त राष्ट्रसंघको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकार सम्बन्धी सिद्धान्तहरु स्थापित गरेको थियो ।

जसमा उनीहरुको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मान प्रमुख छन् । ज्येष्ठ नागरिकको बढ्दो संख्याले सिङ्गो समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा प्रभाव पारेको हुन्छ ।

यीनै प्रभावहरुबारे र ज्येष्ठ नागरिका अधिकार र त्यसको आवश्यकताबारे सर्वसाधारणमा जनचेतना फैलाउने कामको निरन्तरताको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको ठुलो महत्त्व छ ।

यो दिनलाई उनीहरुको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मानसँग संबन्धित जनचेतना अभिबृद्धि गर्ने दिनको रुपमा पनि लिने गरिन्छ ।

नेपालमा पनि हरेक वर्ष यो दिवस विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गरी मनाउने गरिन्छ । यो वर्ष अक्टोवर १ अर्थात् असोज १४ गतेका दिन २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै छ ।

संयुक्त राष्ट्र संघले ज्येष्ठ नागरिकसँग प्रत्यक्ष्य सरोकार राख्ने कुनै एक विषयलाई यस दिवसको मुख्य नारा बनाउने गरेको छ । संसारभरी नै संयुक्त राष्ट्र संघले दिएको नाराकै सेरोफेरोमा केन्द्रित हुने यो दिवसको यो वर्षको नारा ‘उमेरजन्य विभेद अन्त्यको यात्रा’ रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र नेपालको ज्येष्ठ नागरिक ऐन (२०६३) अनुसार ६० वर्ष भन्दा माथिको उमेर समुहका मानिसलाई ज्येष्ठ नागरिक भनि परिभाषित गरिएको छ ।

६० वर्ष भन्दा माथिको उमेरका मानिसलाई उमेरकै कारणले कुनै पनि प्रकारको विभेद या भेदभाव गरिन्छ भने यसलाई ज्येष्ठ नागरिकमाथि हुने उमेरगत विभेद भनिन्छ।

अंग्रेजी भाषामा यस विभेदलाई Ageism भनिन्छ । रोवर्ट बुटलरले सन् १९६८ मा यो शव्दलाई प्रयोगमा ल्याएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उमेरका अधारमा गरिने रुढिवादी, पूर्वाग्रही सोच र भेदभाव नै ज्येष्ठ नागरिकमाथि हुने विभेद हो ।

पहिला प्राप्त भएका अधिकारहरु कटौती हुदै जाने र नयाँ अधिकारको सुनिश्चितता नभएका कारणले गर्दा पनि विश्वब्यापी रुपमा नै ज्येष्ठ नागरिकमाथि हुने उमेरगत विभेद बढ्दो छ ।

यस्तो खालको विभेदले गर्दा ज्येष्ठ नागरिकको दैनिकिमा नयाँ चुनौति थपिएको छ । साथै यस्तो विभेदले ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पारेको छ ।

ज्येष्ठ नागरिकमाथि हुने विभेदकै कारणले गर्दा उनीहरु विभिन्न प्रकार दुव्र्यवहारबाट पीडित हुने गरेका छन् । विश्वब्यापी रुपमा नै ज्येष्ठ नागरिकमाथि उमेरगत विभेद बढ्दै गइरहेको छ । जसका केही प्रकारहरु निम्न छन् ।

१) व्यक्तिगत विभेद (Personal ageism) : एउटा ज्येष्ठ नागरिकलाई हेरेर समग्र ज्येष्ठ नागरिकका विरुद्ध राखिने गलत सोच, विचार र धारणा, जसले गर्दा अन्य व्यक्ति र ज्येष्ठ नागरिकको बीचमा भेदभाव उत्पन्न हुन्छ भने त्यसलाई व्यक्तिगत विभेद भनिन्छ ।

जस्तैः ज्येष्ठ नागरिकको आँखा र कान कमजोर हुन्छ भन्ने विश्वास गर्नु । कपाल फुलेको हुन्छ भन्नु ।

शारीरिक रुपमा फुर्तिला हुँदैनन् भन्ने सोच राख्नु । पढ्न, लेख्न जानेका हुँदैनन् भन्ने सोच बनाउनु आदी ।

हाम्रो समाजका धेरै व्यक्तिहरुमा यस्ता खाले गलत धारणाहरु रहेको पाइन्छन् । तर, माथिका सबै कुरा सबै ज्येष्ठ नागरिकमा नहुन पनि सक्छन् ।

२) संस्थागत विभेद (Institutional ageism): व्यक्तिगत विभेदमा भएको कुराहरुलाई कुनै पनि कार्यालय वा संस्थाले ज्येष्ठ नागरिकमाथि विभेद गर्छ भने त्यसलाई संस्थागत विभेद भनिन्छ ।

शारीरिक र मानसिक रुपमा सकृय भएर आफ्नो पेसाप्रति इमान्दार र बफादार तवरले काम गर्दा गर्दै उमेरको कारणले नै उसलाई अवकास दिइनु संस्थागत विभेद को एउटा उदाहरण हो ।

यो विश्वब्यापी रुपमै फैलिएको विभेद हो । नेपालमा पनि सरकारी तथा नीजि दुबै क्षेत्रमा यो विभेद भेट्न सकिन्छ । उमेर हदको अवकास कै कारणले गर्दा ज्येष्ठ नागरिकहरुमा विभिन्न प्रकारका शारीरिक, मानसिक, आर्थिक समस्याहरु देखा पर्ने गरेका छन् ।

काम गर्न सक्ने सक्षम व्यक्तिलाई उसले चाहेसम्म काम गर्न पाउनुपर्ने नीति नियम र कानुन नबनाएसम्म यो विभेद हटाउन गाह्रो हुन्छ ।

३) जाने बुझेर गरिने विभेद (Intentional Ageism): समाजमा धेरै प्रकारका मानिसको बसोबास रहेको हुन्छ । ती विभिन्न प्रकारका मानिसको सूचीमा ज्येष्ठ नागरिकहरु पनि पर्दछन् ।

सामाजिक हितका लागि निर्माण हुने पाटी, धारा, मन्दिर, बाटो आदी ज्येष्ठ नागरिकका लागि पनि उनीहरु मैत्री हुनुपर्दछ । तर यी सबै कुरा थाहा हुँदाँ हुँदै पनि उनीहरु अनुकूलको नबनाउनु जाने बुझेर गरिने विभेद हो ।

४) अनजानमै गरिने विभेद (Unintentional Ageism) : हामीले गर्ने त्यस्ता व्यवहार वा कामहरु जुन हामी अनजानमै गरिरहेका हुन्छौ र त्यसले ज्येष्ठ नागरिकहरुलाई नकारात्मक असर परेको हुन्छ भने यसलाई अनजानमै गरिने विभेद भनिन्छ ।

जस्तै : ज्येष्ठ नागरिक देख्ने वित्तिकै ठुलो स्वरले बोल्न थाल्नु, किनभने हामी सबैसँग यो गलत धारणा छ कि ज्येष्ठ नागरिकले कान सुन्दैनन् । तर यो सबै ज्येष्ठ नागरिकमा लागु नहुन सक्छ ।

किनकि कसैको युवा अवस्थामा नै श्रवण शक्ति राम्रो नहुन सक्छ । कोही कोहीमा हुने र अन्य उमेरका व्यक्तिमा पनि हुनसक्ने सामान्य समस्या हामी एकमुस्ट रुपमा ज्येष्ठ नागरिकको मात्रै हो भन्ने सोच्छौ ।

हामीमा विकसित भएका यस्ता गलत सोचाइ र व्यवहार नै ज्येष्ठ नागरिकमाथि हुने विभेद बढ्नुका कारक तत्वहरु हुन् ।

माथि उल्लेख गरिएका विभेदहरु हाम्रो देशमा, समाजमा ब्याप्त रुपमा रहेको छ । साथै यस्ता विभेदहरु विश्वब्यापी रुपमा नै बढ्दो अवस्थामा छ ।

यसले भावी पुस्तामा नराम्रो असर पार्ने हुनाले विश्वब्यापी रुपमा नै यसको विरुद्धमा काम गर्न आवश्यक छ ।

यहि आवश्यकतालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले यो वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकोमा अवसरमा ज्येष्ठ नागरिकमाथि हुने उमेरगत विभेदबारे सकृय रुपमा आवाज उठाउन सबैलाई आह्रान गरेका छ ।

ज्येष्ठ नागरिकमाथि हुने उमेरगत विभेदबारे जनचेतना अभिवृद्धि गर्ने विशेष दिन अक्टोवर १ हो । यसका अलाबा संयुक्त राष्ट्रसंघ र ज्येष्ठ नागरिकसँग काम गर्ने अन्य संघ संस्थाले वर्ष भरि नै यहि विषयलाई उठान गर्ने कार्यक्रमहरु गर्ने गर्दछन् ।

सम्पूर्ण विश्वको समस्याको रुपमा रहेको यस्तो विभेद कम गर्नको लागि तपाई हामी पनि आ-आफ्नो समुदाय र कार्यक्षेत्रबाट लागि पर्नु आवश्यक छ ।

संयुक्त राष्ट्रसंघद्वारा प्रस्तावित गरेको सिद्धान्तहरुलाई कार्यान्वयनमा लैजानका लागि पनि यस विषयमा तपाइ हाम्रो सहभागिताको खाँचो छ ।

भर्खर

0