नेपाली मन्दिर बनाउन पैसा खर्च गर्छन् तर आविष्कारमा गर्दैनन्–महावीर पुन (अन्तर्वार्ता) | Khabarhub Khabarhub

नेपाली मन्दिर बनाउन पैसा खर्च गर्छन् तर आविष्कारमा गर्दैनन्–महावीर पुन (अन्तर्वार्ता)



म्याग्दीको विकट गाउँ नाङ्दीमा जन्मेका महावीर पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका हुन् । झण्डै २५ वर्ष विद्यालय शिक्षकका रुपमा काम गरेका पुनले ७ वर्षअघि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । वायरलेस प्रविधिको प्रयोग गरेर गाउँगाउँमा इन्टरनेट सुविधा पुर्‍याएबापत् एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले शुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रले अहिले नयाँ नयाँ आविष्कारको काम गरिरहेको छ ।

जुन पुरस्कार उनले आविष्कार केन्द्रका लागि पैसा जुटाउनका लागि बेच्ने तयारीसमेत गरेका छन् । मुनाफारहित संस्थाका रुपमा रहेको आविष्कार केन्द्रको शुरुवात गरेका पुनले काठमाडौँको किर्तिपुरमा केन्द्रको कार्यालय सञ्चालन गरेका छन् । नयाँ पुस्ताका लागि रोलमोडेल र आविष्कार केन्द्रको संस्थापक अध्यक्षमा रुपमा काम शुरु गरेका उनै पुनसँग हामीले कुराकानी गरेका छौं । प्रश्तुत छ कुराकानीको सम्पादित अंश–

– म्याग्दीको नाङ्गी गाउँमा जन्मेर नेब्रास्का विश्वविद्यालयमा पढ्नुभयो, पारिवारीक अबस्था बताइदिनुस् न ? कसरी यो स्थानसम्म पुग्नुभयो ?

मनुष्यको चोला लिएर जन्मिएपछि चोला भयो, मरेपछि गयो । मानिस जन्मेपछि विभिन्न अबस्थाबाट गुज्रीनुपर्ने हुन्छ । संसारमा रहेका सबै जीवजन्तुहरुको एउटाको अर्कोसँग मिल्दैन, जहाँसम्म मेरो कुरा छ, सयौ मोडहरु पार गरिसके । धेरै मोडहरु पार गर्नुपर्ने हुन्छ । जीवनमा मोडहरु आएपछि नमोडिइ सुखै छैन । तपाईले भनेजस्तै म दुर्गमा गाउँमा हुर्केको मान्छे । म अहिले धेरै स्कूलहरुमा विद्यार्थीहरुसँग अन्तरक्रियाका लागि गइरहेको हुन्छु ।

मेरो कथा भन्दा विद्यार्थीहरुलाई अचम्म पनि लाग्छ । यस्तो पनि सम्भव होला र भन्ने पनि लाग्छ होला । म सानो छँदा भेडा चराएर हिँडेको मान्छे हो । मेरो जमानामा गाउँघरमा बस्ने सबै बालबालिकाहरु यस्तै अबस्थाबाट गुज्रे । हाम्रो गाउँमा केटाकेटीहरुलाई भेडा चराउने जिम्मा दिइन्थ्यो । जुन आजभन्दा ५०/६० वर्षअघिको कुरा हो । जुनजुन गाउँमा अभिभावकहरु हुन्छन्, तिनीहरुले साक्षर बनाउन विद्यालय खोल्ने चलन हुन्थ्यो, त्यस्तैअनुसार हाम्रो गाउँमा विद्यालय खोलेपछि शिक्षक नभएका कारण अभिभावकहरु आफैंले पढाउने गर्थे ।

– कति वर्षको उमेरमा विद्यालय जान थाल्नुभयो ?

त्योत ६/७ वर्षको उमेरतिर गएँ होला । २०२० सालभन्दा अघि नेपालमा पाठ्यपुस्तक थिएनन् । नेपालमा राजनीतिक उथलपुथल चलिरहेका बेला विद्यालय स्थापना गर्ने भन्ने नै थिएन । अभिभावकहरु आफै जागरुक भएर विद्यालय खोलेपनि पाठ्यपुस्तक थिएनन् । गाउँले तहमा खोलेको विद्यालयलाई पछि हामीले पढ्दापढ्दै सरकारले मान्यता दियो । तर ७ कक्षासम्म हामीले पाठ्यपुस्तकविहीन अबस्थामा पढेका हौँ ।

– के पढ्नुभयो पाठ्यपुस्तक नै नभएपछि ?

बुढापाकाले हामीहरुलाई आफुलाई थाहा भएको कुरा विद्यालयमा पढाउँथे । हामीले पनि काठको पार्टीमा उनीहरुले कालोपाटीमा जे लेख्थे, त्यही लैख्थ्यौँ । उनीहरुले दिउँसो पढ्नेभन्दा खेलाउने र कथाहरु सुनाउने गर्थे । स्कूल जाँदा खेल्न पनि पाइने, कथा पनि सुन्न पाइने भएपछि हामी स्कूल जाने गरेका थियौँ । कक्षा ८ मा पुगेपछि बल्ल हामीले कितावमार्फत् पढ्न लागेको हो ।

– पिताजीहरु लाहुरतिर हुनुहुन्थ्यो कि गाउँमै नि त्यो बेलामा ?

वुवा पेन्सनमा आइसक्नुभएको थियो । त्यहाँमात्रै होइन, नेपालको पहाडी क्षेत्रमा पढाउने भन्ने चलन थियो । जुन २०२० सालभन्दा अघिको कुरा हो । तर मेरो बुबामात्रै कहाँबाट कसरी सोच्नुभयो थाहा छैन, उहाँले चाँहि मलाई हाइस्कूल पढाउन चितवन ल्याउनुभयो । म्याग्दीका केही मान्छेहरु चितवन बसाइसराई गरेका थिए । त्यसैकारणले मलाई चितवन ल्याउनुभएको थियो । कक्षा ९ मा भर्ना हुँदा मैले पहिलोपटक चप्पल लगाएको हो । मैलेमात्रै होइन, नेपालको अधिकांश क्षेत्रका मानिसले त्योबेलामा जुत्ताचप्पल लगाउँदैन थिए ।

उतिवेला शुरु गरेको चौरी पाल्ने, माछा पाल्ने, नेपाली हातेकागज बनाउने, जाम बनाउने, मौरी पाल्ने, चीज बनाउने, पर्यटनको लागि लजहरु खोल्ने लगाएतका कामहरु शुरु गरेँ । जुन अहिलेसम्म पनि सफलता पनि पाइरहेको छ ।

जुत्ताचप्पल लगाउने भनेको कर्मचारी र हुनेखानेले मात्रै थियो । म १४ वर्षको हुँदा चप्पल लगाएर स्कूल गएका बेला कुन चप्पल कुन खुट्टामा लगाउने भन्ने सिक्नका लागि निकै समस्या भयो । तर पढाइमा भने म राम्रै थिएँ । मैले एसएलसी पास गरेँ । पास भएपछि त्यो बेलाको शिक्षकहरुले काठमाडौमा गएर विज्ञान पढ्न सुझाव दिए । काठमाडौँ आएर अमृत साइन्स कलेजमा विज्ञान विषय अध्ययन गर्न भर्ना भएँ, तर हामी गाउँमा पढेको मान्छे, अस्कलमा अंग्रेजी माध्यमबाट पढाई हुने, मलाई निकै समस्या पर्‍यो । तर आइएस्सी राम्रोसँग पास भएँ ।

पास भएपनि पनि मेरो अध्ययन त्यो भन्दा अघि जान सकेन । १२ कक्षा पास भएपछि ब्याचलर पढ्न सकिन । मेरो बुबासँग पैसा छैन भन्ने थाहा पाएपछि आफैले निर्णय गरेर ब्याचलरमा भर्ना गरिन । बुबाले पढाउन खोज्नुभएको थियो । तर म चितवनमा गएर शिक्षक भएँ ।जहाँ मैले १३ वर्ष ४ वटा हाइस्कूलमा पढाएँ । १८ वर्षको उमेरमा आइएस्सी पास गरेको थिएँ । ३१ वर्षको उमेरमा अब कलेज पढ्न जाने मोड आयो, त्यो पनि अमेरिकामा पढ्न जाने मोड आयो । अमेरिका जानका लागि अहिलेजस्तो कुनैपनि कन्सल्टेन्सीहरु थिएनन् । अनि न्यूरोडमा अमेरिकन लाइब्रेरी रहेको कुरा थाहा पाएँ ।

जसले अमेरिका जानका लागि सल्लाह सुझाव दिने रहेछ । जुनबेला मसँग एकपैसा पनि थिएन । मैले छात्रवृत्ति खोजेर अमेरिका जान खोजेपनि २ वर्षपछि मात्रै अमेरिका पढ्न जाने छात्रवृत्ति पाए । अमेरिका गएर ब्याचलर लेभलमा भर्ना हुँदा ३३ वर्षको थिएँ । तर यो कुरा सुनाउँदा कतिपयलाई विश्वास लाग्दैन, जिन्दगी भनेकै त्यही हो । अमेरिकामा गएपछि त पढ्नेभन्दा अर्को काम गरिन । म उमेरले पाको भएका कारण त्यहाँको प्रोफेसरहरु साथीजस्तो भए । बुढेसकालमा पढ्न गएको भएकाले सकेजती पढेँ । पटक–पटक गरेर ७ वर्ष अमेरिकामा बसेँ ।

ब्याचलर लेभलका लागि ३ वर्ष बसेँ, त्यसपछि नेपाल आएर समाजसेवामा लागेँ । तर ब्याचलर पास गरेपछि मैले नेपालमा गएर जागिर नखाने निर्णय गरिसकेको थिएँ । जागिर खानुपरे अमेरिकामा खाने भनेको थिएँ, तर अमेरिकाका जिन्दगी पनि काम नगरी खान नपाइने खालको थियो । कसैको अण्डरमा बसेर जागिर खानु भनेको स्वतन्त्र बस्न नपाइने भएकाले सकभर जागिर नखाने निर्णय गरेको थिएँ । नेपालमा आएर पनि जागिर खोज्ने काम गरिन । केही सिप लागेन भने जागिर खानैपर्ने भयो भने अमेरिकामा गएर मात्रै जागिर खाने भन्ने मनसाय थियो ।

मैले कैले पनि पूर्वयोजना बनाउने गरेको छैन । प्रिप्लान भनेको कस्तोले गर्ने हो भने सबै स्रोत र साधन भएकाले मात्रै गर्ने हो । जसको सम्पत्तिको नाममा आफ्नो शरिरमात्रै छ, त्यसले प्रिप्लान गरेर फाइदा छैन । त्यसैले म नेपाल आउँदा कुनै पनि योजना थिएन । नेपाल आएर केही सिप लागेन भने अमेरिका गएर जागिर खाने भन्नेमात्रै थियो ।

-के चिजले तपाईलाई ग्रामिण क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना बनाउनुभयो त ?

ग्रामिण क्षेत्रमा इन्टरनेट ल्याउने भन्ने सोँचेर नेपाल आएको होइन । नेपालमा आएर यसरी काम गर्छु भनेर आएको पनि होइन । मैले कैले पनि पूर्वयोजना बनाउने गरेको छैन । प्रिप्लान भनेको कस्तोले गर्ने हो भने सबै स्रोत र साधन भएकाले मात्रै गर्ने हो । जसको सम्पत्तिको नाममा आफ्नो शरिरमात्रै छ, त्यसले प्रिप्लान गरेर फाइदा छैन । त्यसैले म नेपाल आउँदा कुनै पनि योजना थिएन । नेपाल आएर केही सिप लागेन भने अमेरिका गएर जागिर खाने भन्नेमात्रै थियो ।

नेपाल आएर सबै क्षेत्रमा घुमे, संयोगवश म आफै जन्मेको स्थानमा पनि पुगें । घुम्दैजाँदा गाउँमा जाँदा गाउँलेहरुले हाइस्कूल खोल्नका लागि प्रयास गरिरहेको थाहा पाएँ । जुन स्कूलमा १४ वर्षसम्म पढेको थिए । तर अमेरिका पुगेर फर्किदासम्म पनि स्कूलको अबस्था उस्तै थियो । विद्यालय खोल्नका लागि मलाई सहयोग मागेका थिए । उनीहरुले पैसा मागेका थिए । तर मसँग पैसा त थिएन, मैले स्कूलमा पढाइदिन्छु भने । त्यसपछि उनीहरु खुसी भए । विद्यालय पढाउनका लागि म जिल्लामै बसेँ । मैले सोचेको थिएँ, २/४ वर्षका लागि मात्रै बस्छु भनेर । तर बस्दैजाँदा समस्याहरु देखेँ ।

विद्यालयमा मात्रै गाउँभरि स्वास्थ्य, शिक्षा, रोजगारी लगाएतका समस्या देखेँ । स्कूलमा पढाउन थालेपछि स्वास्थ्यका लागि क्लिनिक कसरी बनाउने भन्ने, आयस्रोत बढाउनका लागि सम्भव हुने सबै काम गरियो । उतिवेला शुरु गरेको चौरी पाल्ने, माछा पाल्ने, नेपाली हातेकागज बनाउने, जाम बनाउने, मौरी पाल्ने, चीज बनाउने, पर्यटनको लागि लजहरु खोल्ने लगाएतका कामहरु शुरु गरेँ । जुन अहिलेसम्म पनि सफलता पनि पाइरहेको छ ।

यस्तो काम गर्नका लागि कुनै पनि शिक्षा आवश्यक थिएन । यस्तो काम गरिरहेका बेला अमेरिकाबाट फर्केको ८ वर्षपछि गाउँमा कम्प्युटर र इन्टरनेट लैजाने विषय सोचेको हो । मैले इन्टरनेट लैजाँदा नेपालका प्रमुख शहरहरुमा मात्रै इनटरनेट शुरु भएको थियो । अन्य स्थानमा कतैपनि सेवा शुरु भएको थिएन । फोनको सेवासमेत गाउँमा पुगेको थिएन । फोन गर्न सबै मानिस जिल्ला सदरमुकाममा जानुपर्ने अबस्था थियो ।

– त्यसकालागि साधन स्रोत र जनशक्ति कसरी जुटाउनुभयो ?

त्यो त सबै मैले गर्ने काम समुदायका लागि थियो । समुदायका लागि गरिने काम समुदायले नै साधन स्रोत जुटाउँछ । मैले सरकारी निकाय वा एनजीओ, आइएनजीओसँग सहयोग मागिन । किनभने सहयोग मागेपनि पाउने अबस्था थिएन । एनजिओ भनेको कस्तो भनेको भने पहुँच हुने स्थानमा मात्रै उनीहरुले लगानी गर्छन् ।

– सरकारले सहयोग गर्दैन भन्ने कसरी लाग्यो, नेपालमा एनजिओ आइएनजिओको भुमिका कस्तो लाग्यो ?

पहिलो कुरा हातेकागज बनाउने सम्भावना गाउँमा देखेँ । तर त्यति ठूलो सम्भावना भएको स्थानमा मैले सरकारसँग अनुमति लिनुपर्ने अबस्था थियो । तर एक वर्षपछिसम्म पनि मैले अनुमति पाउनै सकिन । दोस्रो १९९८ मा नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनायो ।१९९७ मा मैले इको टुरिजमको योजना बनाएँ, नयाँ ट्रेकिङ रुट बनाउने विषयमा लज बनाउने भनेर ३ स्थानमा सरकारी जग्गाका लागि अनुमति लिनका लागि एकवर्षभन्दा बढि समय लाग्यो तर पाइन । त्यसैकारण सरकारी सहयोग पाउन कठिन लाग्यो ।

– गैरसरकारी संस्थाको धेरै आलोचना हुने गरेको छ, तपाईको अनुभव कस्तो लाग्यो ?

यो कस्तो भने नेपालमा यो व्यवसायका रुपमा रहेको देखिएको छ । तर केही नगण्यमात्रामा मात्रै राम्रो उद्धेश्यका लागि काम गरिरहेका छन् । अधिकांशका लागि व्यवसाय बनेको छ । नेपालमा अरु व्यवसाय गर्न त सम्भव छैन, त्यसैले गैरसरकारी संस्था खोलेर व्यवसाय चलाएका छन् । जुन उनीहरुका लागि बाध्यता हो । जस्तो नेपालमा हाम्रो पालामा निजी विद्यालय खोल्ने अबस्था थिएन, तर अहिले नीजि विद्यालय च्याउसरि खुलेका छन् ।

विद्यालय शिक्षालाई व्यवसायका रुपमा लिइएजस्तै गैरसरकारी संस्था पनि व्यवसायजस्तै बनेका छन् । अहिले अस्पतालहरु खोलिएको छ, अरु काम छैन नि नेपालमा, अस्पताल स्कूल, एनजीओ खोल्ने मात्रै काम भइरहेको छ । रोजगारी सिर्जना लागि कुनै पनि उद्योग खोल्न सकेको छैन । रोजगारी सिर्जना गर्न खोज्नेहरुलाई सरकारले हतोत्साहीत गरिरहेको छ । आफ्नो जिविका लागि केही न केही गर्नुपर्ने अबस्था आएपछि गैरसरकारी संस्था खुल्न थाले ।

– जुन अबस्थामा नेपाल छ, तपाई तल्लो तहबाट आएर क्रियाशिल भइरहनुभएको छ । एउटा समुदायलक्षित भएर काम गरिरहनुभएको छ । केही सम्भावनाहरु पनि छ कि समस्या मात्रै छ ?

हैन, जहाँ समस्या हुन्छ, त्यहाँ सम्भावनाहरु पनि हुनेगर्छ । समस्या नहुने ठाउँमा सम्भावना कम हुन्छ । नेपालजस्तो गरीब देशमा सम्भावना प्रचुर मात्रामा भएको देश हो । तर त्यो सम्भावनालाई ग्रहण गर्नसक्नुपर्‍यो ।

– तर गलत राजनीतिक प्रवृत्ति र परम्परागत कर्मचारी संयन्त्र छ कसरी सम्भव होला र ?

राजनीति र कर्मचारी संयन्त्र भनेको अस्थायी संरचना हो । संसारमा कतैपनि अनन्तकालसम्म राजनीति पनि गरेको छैन, कुनै संयन्त्र पनि अनन्तकालसम्म चलेको छैन । जसले काम गर्छ त्यो चल्दै जान्छ । राजनीति राम्रो भएन, कर्मचारी राम्रो भएन भन्दापनि उनीहरुले रोकेर रोकिँदैन, समयअनुकुल अघि बढ्दै जान्छ ।

दिमाग भएको मान्छेहरु राख्नका लागि ठाउँ त चाहियो, त्यो आविष्कार केन्द्र हो । अहिले नेपालमा कसैलाई केही नयाँ आयडिया आयो भने कहाँ गएर बनाउने कुनै ठाउँ छैन । सरकारी र गैरसरकारी तवरमा कुनैपनि स्थान छैन । आविष्कार केन्द्र त उदाहरणका लागि मात्रै गरिएको हो, देशैभर यस्ता केन्द्र हुनुपर्छ ।

– तपाईलाई चाँहि नेपालको राजनीतिले आकर्षण गर्न सकेन ?

देशलाई समृद्ध बनाउन राम्रो राजनीति चाहिन्छ तर नेपालको मामिलामा त्यो हिसाबले चलेको छैन ।

– कुनै समयमा राजनीतिमा पनि सोच राख्नुहन्छ कि ? हुन त तपाई योजनामा विश्वाश नगर्ने भनेर भनिसक्नुभयो ?

मैले प्रष्टसँग भन्ने चाँहि के हो भने, नेपालको राजनीति जुन हिसाबले चलेको छ, संस्कार नै कस्तो भयो भने परिवार व्यक्ति र समूहका लागि राजनीति भन्ने भइरहेको छ ।

पृथ्वीनारायण शाहदेखि यता हेरौँन, रणबहादुर शाहको पालमा भित्रभित्रै यतिधेरै गुटबन्दी भयो, जसका कारण आफुआफुमा लडाइ गर्दा राणा शासनको उदय भयो । राणाहरुको पनि गुटबन्दीका कारण राणाशासन पनि समाप्त भयो । प्रजातन्त्रको उदयपछि २००७ सालदेखि २०१७ सालसम्म अन्यौल देखियो । २०१७ सालमा बहुदलीय व्यवस्थाको शुरुवाता भयो, तर स्वार्थ गाँसिएका कारण निर्दलिय व्यवस्थाको शुरुवात भयो ।

जुन व्यवस्थामा समेत गुटबन्दी भएका कारण तत्कालिन महेन्द्रले ल्याएको निर्दलीय व्यवस्था पनि समाप्त भयो । २०४६ सालमा लोकतन्त्र आयो तर त्यसपछि पनि २०६२/०६३ मा अर्को आयो । नेपालको इतिहासमा कसैलेपनि जनताको चाहनाअनुसार काम गर्न सकेको छैन । आफ्नो समुहका लागि मात्रै काम गरिरहेका छन, केही समय टिकेका छन् । अहिलेको गणतान्त्रिक सरकारले समेत राम्रो काम गर्न सकेन भने जान्छ ।

– गाउँमा जुन काम गर्नुभएको छ, आविष्कार केन्द्र स्थापना गर्नुभएको छ । एसियाको नोवल पुरस्कार समेत मानिने म्यागासेसे पुरस्कार पनि प्राप्त गर्नुभएको छ । तपाईले मानसम्मानका लागि नबोलाउन भन्नुभएको रहेछ । तपाईको जीवनमा किन यस्तो मोडहरु आइरहेको छ त्यसोभए ?

पहिलो कुरा सम्मानको कुरा भयो । मैले सम्मानका लागि काम गरेकै होइन । मैले विद्यार्थीहरुलाई भनिरहेको हुन्छु, सम्मान अगाडिबाट होइन, पछाडिबाट आउँछ । सम्मान पाउन काम गर्नुपर्छ अनि सम्मानले पछ्याउँछ । सम्मान सही हो भने पछाडिबाट आउँछ । अगाडिबाट आउने सम्मान नक्कली हुन्छ । थुप्रै अन्तर्राष्ट्रिय सम्मान पाएँ, त्यसले केही पनि गर्दैन । धेरै भयो सम्मान मलाई सम्मान दिएर बढी काम गर्ने नदिए काम नगर्ने होइन ।

त्यसैले अलि युवाहरुलाई देउ भन्छु । मलाई चाँहिएन । यहाँ त सम्मानका लागि मात्रै स्थापना भएका कैयौँ संस्थाहरु देखेको छु । जहाँसम्म राष्ट्रिय आविष्कारको कुरा छ । यो मेरो जीवनको अन्तिम निष्कर्ष हो । अहिलेसम्म गाउँमा २८ वर्ष काम गरेको मैले सिकेको एउटै ज्ञान हो त्यो । २५ वर्ष नेपालमा बसेर काम गरेर सिकेको एउटै कारण पत्त लगाए । नेपाल गरीब हुने कारण पत्ता लगाएँ ।

नेपाल गरीब हुनुको कारण विश्व बैंक वा जोसुकैले सोधपत्र निकालेपनि मुख्य कारण चाँहि फरक छ । हामी गरीब हुनुको कारण, आर्थिक रुपमा समृद्ध नबनेको कारण नेपालीहरुको संस्कार वा दिमागमा अनुसन्धान वा आविष्कार भन्ने सोचाई नै छैन । हामी नेपालीहरुमा कुनैपनि जमानामा कुनै चिजलाई वैज्ञानिक रुपमा अनुसन्धान वा आविष्कार गर्ने सोच छैन । जसका कारण हामीहरु जिन्दगी चलाउन खेतिपाती मात्रै गर्ने विषयमा अल्झिरहेका छौँ ।

भर्खर २०/२५ वर्ष त भयो नेपालीहरु विदेश जाने आउने गरेको । काठमाडौँकै बागबजार लगाएतका स्थानमा जताततै खेतैखेत मैले देखेको हो । काठमाडौँमा नेवारबाहेक अरु कोही थिएनन् । सबै खेतीपातीमा मात्रै लागिरहेका थिए । जुन मैले देखेको हो । सबैले गुजारामुखी जीवनमा बाँचिरहेका थिए । किनभने संस्कार नै त्यही थियो, खेतीपाती गर्थे, धेरै उब्जा हुने धनी थिए, थोरै उब्जाउने गरीब थिए । व्यापार व्यवसाय केही थिएन । त्यो अबस्थामा कसैले व्यवसायीक रुपमा अनुसन्धान आविष्कार गरेर त्यसलाई व्यापारीकरण गर्ने भन्ने सोच कसैको पनि आएन ।

व्यापार गर्न गाउँगाउँमा नेवारहरु डोको बोकेर जाने गर्थे । कपडा समेत आफै उत्पादन गरेर लगाउने चलन थियो । चन्द्रशमशेरको पालामा मात्रै नेपालमा विदेशबाट सामानहरु आयात गर्न थालेको हो । त्योभन्दा अघि राणाहरुले मात्रै दरबार बनाउन र विलासिताका लागि विदेशबाट आयात गर्ने गर्थे । राणाहरुले विदेशी बस्तु नेपाल ल्याउन थालेपछि बल्ल व्यापार शुरु भयो ।

१९३७ मा विराटनगरमा जुटमिल खोल्यो, जुद्ध म्याच फ्याक्ट्री खोलिएको थियो । राणाहरुले मधेशको काठ लैजानका लागि अमरेखगञ्ज र जनकपुरमा रेल खोले । तर नेपालको आर्थिक विकासका लागि व्यापार कसैले गरेन । अनुसन्धान र विकास भन्ने कसैको दिमागमा आएन । त्यसका लागि राष्ट्रिय आविष्कार केन्द्र खोलिएको हो ।

– यसका लागि जुन प्रविधि, प्राविधक दक्ष जनशक्ति के के तपाईको प्राथमिकतामा पर्छ र तपाई कसरी जुटाउनुहुन्छ ?

अनुसन्धान र विकास भनेको विश्वविद्यालय खोल्ने भनेको होइन । अहिले हामीले खोलेको विश्वविद्यालय हैन । जसको नयाँ आइडिया फुरेको हुन्छ नि त्यसलाई स्याहार सम्भार गर्दा व्यापारीकरण गर्न सकिन्छ । जस्तो अमेरिका, वेलायत लगाएतका देश विकास भएको कारण के हो भने आइडिया भएकाहरुलाई हुर्किने वातावरण बनाइदिएका कारण मात्रै उनीहरु विकसित भएका हुन् । आइडिया भएकाहरुलाई चाहिने कानून, वातावरण सबै दिनुपर्‍यो ।

२१ औँ सताब्दीको समृद्धि भनेको आर्थिक समृद्धि हो । जसका लागि यस्तो किसिमको प्लेटफर्म चाहिन्छ नै । आर्थिक विकास भन्दा व्यापारको कुरा गरौँ । आर्थिक समृद्धि भनेको पैसा कमाउने भन्ने हो । पैसा नकमाइकन कुनै पनि देश धनी बन्न सक्दैन । जतिपनि समृद्ध देश भन्छौँ नि उनीहरु पैसा कमाएर भएका हुन् । त्यसका लागि व्यापारीकरण गर्नुपर्‍यो, त्यसपछि पैसा आउँछ । ६० वर्षअघि नेपालभन्दा गरीब थियो, कोरिया । उनीहरुले आविष्कारमा सकेजति बल लगाए । मरुभुमिका रुपमा रहेको इजरायल बनेको पनि त आविस्कार गरेर त हो नि ।

मेरो जेठाबा सिङ्गापुर मलायमा काम गर्दा सिङ्गापुर र मलायामा सबै जंगल मात्रै थियो भन्थे । सिङ्गापुरमा माछा मारेर बेच्थे अनि खान्थे । किन यसरी उनीहरु विकसित बने ? ५०/६० वर्षमा कसरी विकसित बने उनीहरु । ३० वर्षमा चीन कसरी समृद्ध भए । के कुरालाई टेकेर समृद्ध भए, यो लाटो आँखाले समेत देख्ने कुरा हो । उनीहरु जे गरे हामीले पनि विकास गर्न त्यही गर्नुपर्छ ।

– कस्तो छ राष्ट्रिय आविष्कार केन्द्रको प्रारम्भिक अबस्था ?

महावीर पुन भनेको आफुसँग पैसा पनि नभएको र वैज्ञानिक नभएको भनेर धेरै पिएचडी होल्डरहरुले भनेको सुनेको छु । मैले भने गरेको छु– कसैको पनि संस्कार छैन, नेपालमा केन्द्र कसैले पनि नचलाएका कारण कसैलाई पनि थाहा छैन । मैले पनि अमेरिकामा पुगेर विश्वविद्यालय शिक्षा पढेर आएको हो ।

मैले पनि कुनै विश्वविद्यालयको काम गरेर त आएको हैन । तर हाम्रो बाध्यात्मक परिस्थिती कस्तो छ भने काम गर्ने सिक्दै जाने हो । सिक्नका लागि समय लाग्छ । अहिले हामीले गरिरहेको काम भनेको मकैको गेडा रोपेका छौँ । त्यो गेडा उम्रियो । अहिले २/४ वटा पातहरु पलाएको छ ।

– ग्रामिण क्षेत्रमा तपाईले जुन कामको शुरुवात गर्नुभएको थियो, त्यो अहिले पनि चलिरहेको छ ?

मैले अघि भने, देश गरीब हुने कारण मैले पत्ता लगाएँ । देशलाई समृद्ध बनाउने हो भने आविष्कार गर्ने संस्कार बसाल्न पर्‍यो । दशैँ मनाउने संस्कार कुन जमानामा शुरुवात भएको थियो अहिले पनि निरन्तर छ नि ! गाउँघरमा समुदायका लागि काम गरेँ, मैले २५ वर्षमा सिकेको कुरा के भने नेपालमा अहिले सबै मानिस गुमराहमा रहेको जस्तो देखेको छु । धेरै नागरिकहरु अहिले कडा परिश्रम गरेर देशलाई समृद्ध बनाउँछु भनेर लागिरहेका छन् । धेरै मान्छेहरु राम्रो देश बनाउन लागिरहेका छन् । तर समाजसेवा गरेर स्कूल बनाइदिने, बाटोघाटो बनाइदिने, अस्पताल बनाइदिएर देश समृद्ध बनाउने भनेर लागिरहेका छन् ।

सरकारलेसमेत त्यही भनेको छ । सामाजिक काम गरेर देश कहिले पनि समृद्ध बन्दैन । स्कूल बनाइदियो भने वरीपरीका मान्छेहरुले पढ्न पाउँछ, अस्पताल बनाइदियो भने उपचार हुन्छ, खानेपानी ल्याइदियो भने त्यसले पनि सुबिधा हुन्छ । त्यो त सुबिधा भयो समृद्ध भएन । सुविधा भनेको समृद्धि होइन । सरकारसमेत भौतिक पूर्वाधार बनाएर समृद्ध बनाउँछु भनेर लागिरहेको छ यो उदेकलाग्दो कुरा छ । अहिले एउटा गाउँपालिकाका लागि वार्षिक रुपमा बजेट २०/२५ करोड रुपैयाँ दिइएको छ । त्यो सबै पैसा भौतिक पूर्वाधारमा जान्छ ।

– अनि कसरी हुन्छ त देश समृद्ध ?

मेरो भनाइ के हो भने देशलाई समृद्ध बनाउनका लागि भौतिक पूर्वाधार नभई नहुने काम हो तर त्यो भनेको ५० प्रतिशत काम हो । समृद्ध बनाउने अभियानको बाँकी ५० प्रतिशत काम भनेको देशमा उद्योगधन्दा वा बस्तुहरु उत्पादन गरेर व्यापारीकरण गर्नुपर्छ । सामसुङले कोरियाको जिडिपीको २० प्रतिशतजति ओगटेको छ । देश सृमद्ध बनाउन व्यापारीकरण हुनुपर्‍यो । व्यापारका लागि बस्तु उत्पादन गर्नुपर्‍यो ।

त्यसका लागि मान्छेहरु पनि चाहिए । दिमाग भएको मान्छेहरु राख्नका लागि ठाउँ त चाहियो, त्यो आविष्कार केन्द्र हो । अहिले नेपालमा कसैलाई केही नयाँ आयडिया आयो भने कहाँ गएर बनाउने कुनै ठाउँ छैन । सरकारी र गैरसरकारी तवरमा कुनैपनि स्थान छैन । आविष्कार केन्द्र त उदाहरणका लागि मात्रै गरिएको हो, देशैभर यस्ता केन्द्र हुनुपर्छ ।

सबै पुरस्कार बेचिसकेको छु । त्यही भएर अहिले मैले सबैलाई थर्काउँछु, पुरस्कार नदेउ दियौ भने मैले बेच्दिन्छु भनेर । म्यागासेसे पुरस्कार पनि २ वर्षदेखि बेच्नका लागि राखेको छु । त्यो पैसा आविस्कारका लागि प्रयोग गर्नका लागि हुन्छ भनेर त्यो गरेको हो ।

– तपाईको केन्द्रमा केही नयाँ पुस्ताका मान्छेहरु आएका छन् त आविस्कार गर्छु भनेर ?

त्यो त अहिलेसम्म आविष्कार केन्द्रमा १६/१७ किसिमका कामहरु भइराखेको छ । प्रपोजल पनि उत्तिकै मात्रामा आइरहेका छन् । तर हामीकहाँ आएका प्रपोजल हेरेर उद्यमी बन्ने सर्तमा मात्रै काम गर्न भन्छौँ । अहिले स्कूल कलेजका विद्यार्थीहरु पनि आएका हुन्छन् । आएकाहरुलाई हामीले ४ वटा हिसाबले सहयोग गछौँ, सेलेक्सन कमिटिले छानेपछि सहयोग दिन्छौँ । पहिलो प्रोटोटाइपिङ स्टेज भन्छ्न, आइडिया टेस्ट गर्ने स्टेजमा काम गर्नुपर्छ । परीक्षण गर्दा जेजे चाहिन्छ त्यो सहयोग दिन्छौँ । राम्रो आइडिया ल्यायो भने पैसाको जिम्मा हामी लिन्छौँ ।

अहिले जति हामीकहाँ काम भइरहेको छ, १ लाखदेखि १६ लाखसम्म सहयोग गरेका छौँ । जबसम्म नेपालमा आविष्कारका लागि पैसामा कन्जुस्याइ हुन्छ नि त्यहाँ कहिले पनि समृद्धिको सपना नदेखे हुन्छ । आविस्कारका लागि नेपालीहरुले एक रुपैयाँ पनि खर्च गर्दैनौँ । पूजापाठ गर्ने कुरा, मन्दिर बनाउने कुरामा हामी सामाजिक रुपमा खर्च गर्न तयार छौँ, तर आविष्कारका लागि नेपालीजति कन्जुस संसारमा कोही पनि छैन होला । दोस्रो स्टेज भनेको स्रोत साधन सबै उपलब्ध गराउँछौँ । अहिले हामीले आफ्नै स्रोतबाट डेढ करोडको सामान किन्दैछौँ ।

त्यो सब भयो भने बस्तु उत्पादन हुन्छ । विश्वव्यापारीकरणको अहिलेको अबस्थामा राम्रो र सस्तो बस्तु उत्पादन गर्न सहयोग गछौँ । त्यसलाई व्यापारीकरणका लागि लगानीकर्ताकोसमेत हामी जोहो गरिदिन्छौँ । चार तहको जुन स्टेज छ त्यो नेपालमा गर्नैपर्छ, जुन सजिलो छैन, तर गार्‍हो पनि छैन । आविष्कार भनेको १०/१५ प्रतिशत मात्रै सफल हुन्छ । आविष्कार केन्द्रले गर्न खोजेको यही हो, कतिसम्म गर्नसक्छौँ ।

– म्यागासेसे पुरस्कार पाएको तपाईको सामान्य जीवनशैली छ, समाजका लागि सन्देश दिन खोजेको हो कि ?

म बाल्यकालदेखि ३३ वर्षसम्म सुबिधा भनेको देखिएन । दुःख सुख जीवनयापन भयो । अलिहति सुख सुबिधा भोगेको भनेको अमेरिका बस्दा हो । सुखसुबिधा भनेको मनले सोच्ने कुरा हो । कसैलाई ठूलो बङ्लामा बस्न नपाउँदा सुख सुबिधा भएन भन्ने लाग्नसक्छ । जुन मनले सोच्ने कुरा हो । धनसम्पत्ति भन्ने कुरा केलाई र कति सम्पत्तिलाई पर्याप्त भन्ने त्यो सोच्ने कुरामात्रै हो । नेपाल आर्थिक रुपमा मात्रै गरीब भएको हो । अरु कुरामा गरीब छैन । संस्कृति, भाषा, धर्म प्राकृतिक स्रोत सबैमा धनी छ नेपाल । नेपाल गरीब भएको पैसा नभएर हो ।

पैसा कमाउन उद्यमी बन, आविस्कार गर भनेर राष्ट्रिय आविष्कार केन्द्रमा पैसा कमाउन मैले उक्साइरहेको छु । आफु पनि बन, देशको पनि विकास गर, अहिलेजस्तो नेपालीहरु विदेशमा गएर दुःख पाउन नपरोस् भनेर उक्साइरहेको छु । मेरो कुरा भन्नुहुन्छ भने अहिलेसम्म जीवन चलाइयो, अब किन चाहियो पैसा । मपनि सुविधाभोगी हुनुपर्‍यो भने मैले पनि काम गर्नुपर्‍यो नि । पैसा भनेको काम नगरी हुँदैन, मैले व्यवसाय गरेर पैसा कमाउनुपर्‍यो, तर व्यवसायतिर लागेभने यताको काम कसरी गर्नसक्छु मैले ? एकतिर त लाग्नुपर्‍यो ।

मैले कुनै काम गरेर धेरै पैसा कमाए भने कार किनौला २/४ वटा, आलिसान घर बनाउँला । तर संसारको सबैभन्दा राम्रो होटेलमा पनि बसेको छु, जेट प्लेन पनि चढेको छु, मिठोमिठो चिज पनि खाएको हो । त्यसकारणले अनुभव लिइसकेको छु संसारको सबै सुबिधाको ।

सबै कुरा भोगेका कारण म आफैले आफैलाई भारी बनाउन नचाहेको हो । सकेसम्म हलुङ्गो भएर हिड्न खोजेको हो । मैले अस्ती पनि भने धेरै पुरस्कार नदेउ भनेको कारण पनि त्यही हो ।

धेरै सम्मान पाएँ भने सबैले धेरै सम्मान दिएको मान्छे भन्छन् अनि फेरि मलाई सबै ठाउँमा बोलाउँछन् बेकारमा मेरो समय वर्वादीमात्रै । त्यही भएर मैले जिन्दगीको अन्तिम चौथाई भागलाई किन तडगभडग भएर हिड्नपर्‍यो भन्ने लाग्छ । मेरो २ वटा छोरी र श्रीमती पोखरामा बस्छन्, घर त बनाइन, श्रीमतीले छोरीहरुको हेरचाह गर्छिन् । केही कुराको दुःख छैन ।

– म्यागासेसे पुरस्कारप्रति तपाईको धारणा चाँहि के छ नि ?

तपाईलाई थाहा छ कि छैन, मैले पाएको सबै पुरस्कार बेच्न भनेर अमेरिकाको सानफ्रान्सिस्कोमा केटाहरुलाई बेच्न भनेको छु । सबै पुरस्कार बेचिसकेको छु । त्यही भएर अहिले मैले सबैलाई थर्काउँछु, पुरस्कार नदेउ दियौ भने मैले बेच्दिन्छु भनेर । म्यागासेसे पुरस्कार पनि २ वर्षदेखि बेच्नका लागि राखेको छु । त्यो पैसा आविस्कारका लागि प्रयोग गर्नका लागि हुन्छ भनेर त्यो गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ५० बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा