गुगल यसरी बन्यो इन्टरनेटको बादशाह

हिमाल कोइराला

शनिबार, जेष्ठ १८, २०७६

Reading Time: 6 minutes

गुगल यसरी बन्यो इन्टरनेटको बादशाह

हाल विश्वका ४ अर्बभन्दा धेरै मानिसहरु इन्टरनेटको पहुँचमा रहेको अनुमान छ । यो सङ्ख्या विश्वको ५५ प्रतिशत भन्दा धेरै हो । अनि इन्टरनेट प्रयोग गर्ने अर्बौं मानिसहरुको दैनिक जीवनमा जोडिएको अर्को नाम हो गुगल ।

गुगलले प्रदान गर्ने सेवाबिना अहिलेको विश्वमा इन्टरनेटको कल्पना गर्न नै मुश्किल छ । गुगलले उत्पादन गरेका स्मार्टफोन हुन्, या हाल विश्वका अधिकांश स्माटफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम एण्ड्रोइड नै किन नहोस्, वा गुगलकै भिडियो शेयरिङ साइट युट्युब होस् अथवा इमेलका लागि प्रयोग हुने जिमेल नै किन नहोस् वा आफूलाई जिज्ञासा लागेका विषय खोज्न आवश्यक पर्ने सर्च इन्जिन नै किन नहोस् । गुगलले हरेक इन्टरनेट प्रयोगकर्ताका लागि जीवन सहज बनाइदिएको छ ।

कसरी सफल भयो गुगल ?

आखिर कसरी गुगल हरेक मानिसको जीवनसँग प्रत्यक्ष रुपमा जोडिन सफल भयो ? यो प्रश्न उठ्नु स्वभाविक हो । खासमा सन् १९९६ मा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्टानफोर्ड विश्वविद्यालयमा विद्यावारिधी अध्ययन गर्दै आएका विद्यार्थी ल्यारी पेज र सेर्गेई ब्रिनले ब्याकरब नामक आफ्नो प्रोजेक्टका क्रममा नियमित वेबमा आधारित नयाँ सर्च इन्जिनको निर्माण गर्ने अभियानमा लागे ।

रीले खोजेको गुगलको डोमेन गुगलको वास्तविक स्पेलिङ Googol हुनुपर्नेमा Google रहेछ, सोही अनुसार गुगलको नाम रहन गयो

यसअघिका सर्च इन्जिनले निश्चित समयमा प्रयोगकर्ताले कुन शब्द कतिपटक सर्च गरे भन्ने हिसाबमा नतिजा देखाउने गरेकोमा ब्याकरबले भने अरुभन्दा फरक शैलीबाट ‘प्रयोगकर्ताले सर्च गरेको शब्दमा कतिवटा साइट लिंक भएका छन्’ भन्ने पेजर्‍याकको हिसाबमा नतिजा देखाउने गथ्र्यो । यद्यपि हाल भने गुगलको सर्च अल्गोरिदम व्यापक परिष्कृत भइसकेको छ ।

ब्याकरब नाम निकै नै असुहाउँदो भएकाले त्यसलाई परिवर्तन गर्ने सल्लाहका लागि साथीहरु भेला भएका बेला स्टानफोर्ड विश्वविद्यालयकै सिन नामक सहपाठीले सर्च इन्जिनको नयाँ नाम १ पछि सयवटा शून्य अंकको गन्ती ‘गुगलप्लेक्स’ राख्न भनी सल्लाह दिए । तर, गुगलप्लेक्स निकै नै लामो नाम रहेकाले त्यसलाई छोटो बनाएर गुगल राख्ने निष्कर्ष निस्कियो । सोही अनुसार ल्यारी पेजले गुगल नामक डोमेन सर्च गर्दा दर्ता नै नभएको डोमेन फेला पर्‍यो । तर, अचम्म त के भयो भने ल्यारीले खोजेको गुगलको डोमेन गुगलको वास्तविक स्पेलिङ Googol हुनुपर्नेमा Google रहेछ, सोही अनुसार गुगलको नाम रहन गयो ।

त्यसपछि सन् १९९७ मा गुगल डटकम नामक डोमेन दर्ता गरियो भने ल्यारी र सेर्गेईले मेल्नो पार्कमा उनीहरुका सहपाठी सुसन वुचिस्कीको ग्यारेजमा आधारित रहेर सन् १९९८ मा गुगललाई कम्पनीकै रुपमा दर्ता गरे । पछि उक्त कम्पनीलाई सन् २००३ मा स्टानफोर्ड विश्वविद्यालयको सर्भरमा आधारित रहेर सुसन वुचिस्कीको ग्यारेजमा स्थापित कम्पनी सिलिकन भ्यालीमा सर्‍यो ।

सन् २००० को दशकको पूर्वार्धमा गुगलले आफ्नो सर्च इन्जिनलाई अझ परिष्कृत बनाउनका लागि गुगल इमेज र गुगल न्यूज भन्ने नयाँ फिचर थप्यो । यसबाट प्रयोगकर्ताले गुगलमा सर्च गरेका शब्दअनुसार तस्बीर तथा समाचार पनि प्राप्त गर्न सक्नेभए । त्यसबाहेक समयक्रमसँगै गुगलले आफ्नो सर्च इन्जिनमा गुगल बुक्स, गुगल ट्रान्सलेट, गुगल फाइनान्स लगायतका सेवाहरु पनि उपलब्ध गराउन शुरु गर्यो ।

एकातर्फ सर्च इन्जिनको लोकप्रियता तथा नयाँ किसिमको विज्ञापन शैलीबाट गुगलले राम्रो व्यावसायिक लाभ उठाउँदै गयो भने अर्कातर्फ गुगलले सर्च इन्जिनबाहेक अन्य सेवातर्फ पनि कदम चाल्यो

पेजर्‍यांकको नवीन खोजले गुगललाई त्यसबेलाका प्रतिस्पर्धीभन्दा निकै फरक र लोकप्रिय बनायो । सन् १९९० को दशकको अन्त्यतिर तथा सन् २००० को दशकको शुरुतिर गुगल विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन साइट बन्न पुग्यो ।

गुगल सर्च इन्जिनको लोकप्रियता बढ्नुको अर्काे कारण के पनि थियो भने यसको वेबपेजको ले–आउट निकै नै सरल किसिमको थियो । त्यसबेला अन्य सर्च इन्जिनका होमपेजको ठूलो स्थान विज्ञापनले ओगट्ने गरेपनि गुगलले भने आफ्नो हामपेजमा कुनै पनि विज्ञापन नै राखेको थिएन ।

सन् २००० मा शुरु गरिएको गुगल एड अनुसार गुगलमा आउने विज्ञापन सर्च इन्जिनको रिजल्टको शैलीमा रिजल्ट पेजमा मात्र देखिने गरेको थियो भने प्रयोगकर्ताले गर्ने सर्चका आधारमा गुगलले फरक–फरक प्रयोगकर्तालाई प्रयोगकर्ताको रुचीअनुसारका फरक–फरक किसिमका विज्ञापन देखाउने गरेको थियो । यसबाट प्रयोकर्तालाई गुगलको सर्च इन्जिन प्रयोग गर्न उती असहज महशुस हुने गरेको थिएन ।

एकातर्फ सर्च इन्जिनको लोकप्रियता तथा नयाँ किसिमको विज्ञापन शैलीबाट गुगलले राम्रो व्यावसायिक लाभ उठाउँदै गयो भने अर्कातर्फ गुगलले सर्च इन्जिनबाहेक अन्य सेवातर्फ पनि कदम चाल्यो ।

खासगरी त्यस समयको इन्टरनेट कम्पनी माइक्रोसफ्टसँगको प्रतिस्पर्धाका कारण माइक्रोसफ्टको हटमेललाई चुनौति दिनका लागि गुगलले सन् २००४ मा जीमेल नामक इन्टरनेटमा आधारित इमेल सेवा शुरु गर्यो । हाल विश्वका १ अर्ब ४० करोड भन्दा धेरै मानिसहरु नियिमित रुपमा जीमेलको प्रयोग गर्दै आएका छन् भने हटमेल अहिले इतिहास बनिसकेको छ ।

सन् २००४ मै गुगलले डिजिटल नक्शा अर्थात् गुगल म्याप लन्च गर्यो । हाल गुगल म्यापलाई विश्वको सबैभन्दा उत्कृष्ट डिजिटल म्यापका रुपमा लिइन्छ । त्यस्तै, सन् २००६ मा गुगलले भिडियो शेयरिङ साइट युट्युब खरिद गरेको थियो ।

युट्युबलाई चुनौति दिनसक्ने अर्को कुनै भिडियो शेयरिङ साइट हालसम्म देखा परेको छैन भने निकट भविष्यमा त्यस्तो कुनै अर्को साइट आउनेमा पनि आशंका छ । हाल युट्युबमा दशौं लाख भिडियो अपलोड भएका छन् भने त्यहाँ हरेक दिन अर्बाैंको सङ्ख्यामा भ्यूजहरु आउने गरेको छ ।

गुगलको बजार मूल्य हाल ७ खर्ब अमेरिकी डलर भन्दा धेरै छ । त्यसबाहेक गुगलले विश्वका विभिन्न मुलुकमा एक लाखभन्दा धेरैलाई प्रत्यक्ष तथा अन्य दशौं लाखलाई अप्रत्यक्ष रुपमा रोजगारी समेत दिँदै आएको छ

त्यसबाहेक गुगलले सन् २००८ मा स्मार्टफोनमा प्रयोग हुने अपरेटिङ सिस्टम एण्ड्रोइड सार्वजनिक गर्यो । हाल करिब २ अर्ब भन्दा धेरै स्मार्टफोनमा एण्ड्रोइडका विभिन्न संस्करणका अपरेटिङ सिस्टम रहेको अनुमान छ । यसअनुसार विश्वका कुल स्मार्टफोनको करिब ८० प्रतिशत स्मार्टफोनमा एण्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग हुने गरेको छ ।

त्यसबाहेक गुगलले इन्टरनेटमा आधारित सयौं प्राविधिक सेवाहरु उपलब्ध गराउँदै आएको छ । अब त गुगलका सेवाबिना इन्टरनेटको दुनियाँ कल्पना गर्न समेत नसकिने भइसकेको छ । गुगल हाल हरेक इन्टरनेट प्रयोगकर्ताको जीवनको अभिन्न अंग नै बनिसकेको छ ।

सन् २०१५ मा गुगलले आफ्नो कम्पनीको नाम परिवर्तन गरी अल्फबेट राख्यो । अल्फबेट कम्पनीको नाम त्यति ख्यातिप्राप्त नभएपनि गुगलको सेवाका कारण प्राविधिक दुनियाँमा बादशाहका रुपमा विकसित भइसकेको छ ।

गुगल आजभोलि धेरैको सूचना, जनाकारी मनोरञ्जन, खेलको श्रोत समेत हो । फेसबुक, अमेजन र एप्पलसहित बिग फोर प्राविधिक कम्पनीको रुपमा समेत विकसित भइसकेको छ ।

गुगलको बजार मूल्य हाल ७ खर्ब अमेरिकी डलर भन्दा धेरै छ । त्यसबाहेक गुगलले विश्वका विभिन्न मुलुकमा एक लाखभन्दा धेरैलाई प्रत्यक्ष तथा अन्य दशौं लाखलाई अप्रत्यक्ष रुपमा रोजगारी समेत दिँदै आएको छ । जे भएपनि कम्पनीको स्थापना भएको २ दशककै समयमा यतिको ठूलो उपलब्धी हासिल गर्नु चानचुने कुरा भने होइन ।

भर्खर

0