हिमाल चढ्न शारीरिक शक्ति र मानसिक सबलता चाहिन्छ | Khabarhub Khabarhub

हिमाल चढ्न शारीरिक शक्ति र मानसिक सबलता चाहिन्छ



काठमाडौं– गत जेठ ८ मा सगरमाथाको शिखरमा पुगेर केही राहत महशुस गरिरहेका बेला एचआईभी संक्रमित गोपाल श्रेष्ठको मनमा अचानक एउटा कुरा आयो, अहिले म आफूलाई जीवन जिउन हौसला दिने मेरी श्रीमती, मेरो परिवार, मेरा साथीभाइ र शुभेच्छुकबाट धेरै टाढा–विश्वको सर्वोच्च शिखरमा छु । मैले सगरमाथाको सफल आरोहण गरेको थाहा पाएर उनीहरु कति खुशी र गौरवान्बित होलान् ?’

‘हिमाल चढ्नु मेरा लागि निकै चुनौतिपूर्ण थियो, तर कहिल्यै हिम्मत नहार्न हौसला दिनेहरुबाट मलाई ठूलो उर्जा मिल्यो र मैले हिम्मत हारिन । मेरा शुभेच्छुकहरुप्रति म कृतज्ञ छु,’ उनले खबरहबलाई सुनाए ।

उनका अनुसार जीवनमा असम्भव भन्ने केही पनि छैन, ‘यदी तपाईं केही चाहनुहुन्छ र त्यसका लागि कडा मेहनत गर्नुहुन्छ, तपाई त्यो अवश्य पनि पाउनुहुन्छ । यसमा कुनै शंकै छैन,’ उनी भन्छन् । उनको जीवनको अनुभव पनि यस्तै नै छ, उनले सगरमाथा चढ्ने धोको ७ वर्षसम्म पालेर राखेका थिए । बल्ल उनी यसपाली सफल भए ।

उनका अनुसार हिमाल चढ्न शारीरिक शक्तिका साथै मानसिक रुपमा पनि सबल हुनुपर्छ । ‘कतिले त मलाई सगरमाथा नचढ्न आग्रह पनि गरे,’ आँखा रसिलो पार्दै उनी भन्छन्, ‘मेरो अभियानलाई मैले निरन्तरता दिएँ र उनीहरुलाई मैले गलत साबित गरेरै छाडेँ ।’

श्रेष्ठ सगरमाथा आरोहणको व्यवस्थापन गर्न नसकेकोप्रति सरकारसँग भने खुशी छैनन् । सगरमाथा आरोहणको व्यवस्थापनमा कमजोरी र सगरमाथा क्षेत्रका सरकारी अधिकारीका काम गराइप्रति उनको चित्त बुझेको छैन ।

‘सगरमाथाको चुचुरोमा पुग्नका लागि पर्यटकहरु घण्टौं लामो ट्राफिक जाममा पर्दा पनि कसैलाई मतलब नै छैन,’ उनले सगरमाथा यात्राको पीडा सुनाए । दक्षिणी कोलबाट सगरमाथा आरोहण गर्ने क्रममा उनी आफैं करिब २ घण्टा यस्तै ट्राफिक जाममा परेको उनी सुनाउँछन् ।

सगरमाथा चढ्दा आरोहीले सरकारलाई पैसा पनि बुझाउनुपर्छ भने अर्कोतर्फ आफ्नो ज्यान समेत जोखिममा पार्नुपर्ने उनको बुझाई छ । सरकारलाई आरोहीको सुरक्षाप्रति कुनै चासो नरहेको उनले बताए ।

दक्षिणी कोल सगरमाथा र विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको बीचमा रहेको धारिलो पर्वतश्रेणी हो । यो क्षेत्रमा तीब्र गतिमा खतरनाक हुरी आउने गर्छ । यसबाट पहिलो पटक तथा पर्याप्त तालिम बिना सगरमाथा आरोहण गर्दै गरेकालाई निकै जोखिम हुने गर्छ ।

मौसमको निगरानी गर्ने संयन्त्र नभएको प्रति उनको गुनासो छ । पर्वतारोहण पर्यटनबाट पैसा कमाइरहेकाहरुले पनि यसप्रति चासो नदिएको उनको भनाइ छ ।

सरकारले हरेक वर्ष सगरमाथा आरोहण गर्ने आरोहीको सङ्ख्या निर्धारण गर्नैपर्ने बताए । सगरमाथामा निकै फोहोर बढेको र यसबाट रोगहरु सर्ने जोखिम रहेको भन्दै उनी सरकारले नियमित रुपमा सगरमाथाको सफाइ गर्नुपर्ने बताउँछन् ।

सगरमाथालाई बेवास्ता गर्यौं भने सगरमाथाकै लागि भनेर कोही पनि नआउने उनको भनाइ छ । उनले सगरमाथाको क्याम्प ४ आसपास धेरै नै फोहोर रहेको समेत बताए ।

विदेशी सञ्चारमाध्यममा सगरमाथाको अव्यवस्थाबारे पटक–पटक कुरा उठेका छन्, ‘सरकारलाई लाज लाग्नुपर्ने होइन ? यदी सगरमाथा क्षेत्रको आवश्यक व्यवस्थापन गर्न सकिएन भने आगामी वर्ष हाम्रो पर्यटन क्षेत्र के हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

उनका अनुसार हिउँको कमीका कारणले गर्दा केही स्थानमा हिमालका काला चट्टानहरु देखिन थालेको छ, यसअघि यस्तो देखिएको थिएन । उनी विदेशीलाई भन्दा पनि नेपाली नागरिकलाई प्राथमिकतामा राखेर सगरमाथा आरोहण अनुमतिपत्रको व्यवस्था गर्न सरकारसँग आग्रह गर्छन् ।

त्यस्तै सगरमाथा क्षेत्रमा उद्धारका लागि खटिएको टोली प्रभावकारी बन्न नसकेको पनि उनको गुनासो छ ।

श्रेष्ठ सगरमाथाको आरोहण गर्ने पहिलो एचआईभी/एड्सबाट पीडित नेपाली हुन् । एचआईभी/एड्सबारे जनचेतना जगाउनकै लागि पनि सगरमाथाको आरोहण गरेका हुन् । जीवन खुशी तथा उमंगका साथ जीउन एचआईभी/एड्सले कुनै फरक नपार्ने साबित गरिदिएका छन् ।
पोखरा ७ का उनी कीर्तिमानी आरोही फुर्बा तेन्जिङ शेर्पासँगै सगरमाथाको शिखरमा पुगेका हुन् । ड्रिमर डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशकसमेत रहेका फुर्बा हालसम्म १४ पटकसम्म सगरमाथाको शिखरमा पुगिसकेका छन् ।

गोपाल शेर्पा र उनको टिमको प्रशंसा गर्दै भन्छन्, ‘उनीहरु मेरा गाइड मात्रै होइनन्, मेरा भगवान् हुन् ।’

उनी सगरमाथाको सम्झाना गर्दै भन्छन्, ‘विश्वको शिखरमा पुगिसकेपछि अब पुग्नुपर्ने कुन चाहीँ ठाउँ बाँकी छ र ?’

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १ : १८ बजे

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका