मजदूरको ‘महापर्व’, यसरी मनाउन थालियो अन्तर्राष्ट्रिय मजदूर दिवस | Khabarhub Khabarhub

मजदूरको ‘महापर्व’, यसरी मनाउन थालियो अन्तर्राष्ट्रिय मजदूर दिवस


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आज मे १ तारिख, अर्थात् मजदूरहरुको महापर्व । हरेक वर्ष विश्वभरका मजदूरले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउँदै आएका छन् । यो दिनलाई विश्वभरका ट्रेड युनियन तथा मजदूर संगठनले निकै ठूलो उत्सवका रुपमा समेत लिने गर्छन् ।

‘संसारका मजदूर एक हौं’ भन्ने मूल सिद्धान्तमा आधारित भएर स्थापना भएका विश्वका विभिन्न समाजवादी तथा कम्युनिस्ट मुलुकमा आजका दिनलाई विशेष महत्व दिने गरिएको छ । विश्वका अधिकांश मुलुकमा आजको दिन सार्वजनिक विदा समेत दिने गरिएको छ ।

मजदूरलाई ८ घण्टा काम गर्ने व्यवस्थाका लागि १९ औं शताब्दीको अन्त्यतिर गरिएको संघर्षको सम्झनास्वरुप मजदूर दिवस शुरु भएको हो । तत्कालीन समयमा तीब्र औद्योगिक फड्को मारिरहेको अमेरिकामा १८८० को दशकसम्म पनि मजदूरलाई दैनिक १६ घण्टासम्म पनि काम गर्न लगाइन्थ्यो ।

असुरक्षित काम गर्ने वातावरणका कारण काम गर्ने स्थलमा मजदूरको मृत्यु हुनु वा अंगभंग हुनु सामान्यजस्तै थियो । मजदूरको श्रम शोषणबाट उद्योगपतिहरुले फाइदा उठाइरहेका बेला त्यहाँ मजदूरहरु संगठित हुने क्रम पनि बढ्दै गइरहेको थियो । त्यसबेला विभिन्न ठूला उद्योगमा ट्रेड युनियनका नाममा मजदूर संगठनहरु निकै सक्रिय नै रहँदै आएका थिए ।

त्यस्तै, तत्कालीन समयमा युरोपमा चर्को बहस छेडेको ‘समाजवाद’ नामक विचार अमेरिका प्रवेश गर्न सफल भएको थियो भने श्रम शोषणबाट नराम्ररी पिरोलिएका अमेरिकी मजदूरले समाजवादी विचारधारालाई सकारात्मक रुपमा लिइरहेका थिए । केही उग्रवादी मजदूर संगठन र नेताहरुले ‘उत्पादनका साधनमा श्रमिकको नियन्त्रण’ हुनुपर्ने र पुँजीवादी व्यवस्थाविरुद्ध क्रान्ति गर्नका लागि हरेक श्रमिकका साथमा हतियार हुनुपर्नेसम्मका विचार अघि सारिरहेका थिए ।

सोही क्रममा सन् १८८४ मा अमेरिकाको इलेनाई राज्यको शिकागो शहरमा तत्कालीन समय अमेरिकी ट्रेड युनियनहरुको छाता संगठन फेडेरेसन अफ अर्गनाइज ट्रेड्स एण्ड लेबर युनियन्सले ऐतिहासिक घोषणा गर्दै सन् १८८६ मे १ बाट ८ घण्टाको कार्य समय सुनिश्चित गरिने जनायो । यद्यपि यो घोषणा गर्दा फेडेरेसन अफ अर्गनाइज ट्रेड्स एण्ड लेबर युनियन्सले उद्योगपतिहरुसँग कुनै परामर्श नगरी एकलौटी घोषणा गरेको थियो ।

शुरुमा अराजकतावादी केही ट्रेड युनियनका उग्र घटकहरुले भने यसलाई ससुधारवादी घोषणा भन्दै निन्दा गरे । उनीहरुको तर्क अनुसार मालिकको नियन्त्रणमा उद्योग रहेसम्म जतिघण्टा श्रम गरेपनि मजदूर ज्यालादारी दास नै रहन्छ, उद्योगको सम्पूर्ण नियन्त्रण मजदूरको हातमा नआएसम्म मजदूरको उन्मुक्ती हुँदैन ।

त्यसपछि सन् १८८६ मा फेडेरेसन अफ अर्गनाइज ट्रेड्स एण्ड लेबर युनियन्सले सन् १८८४ मा गरेको घोषणा अनुसार मजदूरले आन्दोलन शुरु गरे । सो क्रममा लाखौं मजदूर ८ घण्टा श्रम समयको माग गर्दै सडकमा प्रदर्शनमा उत्रिए । एक अनुमान अनुसार त्यस दिन अमेरिकाभर विभिन्न १३००० व्यापारिक संस्था तथा उद्योगहरुमा काम गर्ने ३ लाख भन्दा धेरै मजदूर आन्दोलमा उत्रेका थिए ।

८ घण्टा काम गर्ने सुनिश्चितताका लागि आन्दोलन गर्न भेला भएका मजदूरको प्रदर्शन हिंसात्मक हुँदै गयो । दिन बित्दै गएपनि मजदूरको प्रदर्शन थामिएन भने प्रदर्शनमा प्रहरीको दमन पनि बढ्दै गयो । मजदूर आन्दोलनको केन्द्रमा रहेको शिकागो शहरको हेमार्केट स्क्वायरमा मे ४ का दिन मजदूर आन्दोलन र प्रहरी दमनबारे छलफल गर्न ३ हजारजति अराजकतावादी मजदूर नेता भेला भएका बेला त्यहाँ नजिकै रहेको प्रहरी एकाईमाथि बम प्रहार भयो ।

लगत्तै हतियारबन्द मजदूर र प्रहरीबीच झडप शुरु भयो । बम विष्फोट र झडपमा ७ प्रहरी र ४ मजदूरको ज्यान गयो । बम कसले प्रहार गरेको भन्ने स्पष्ट नभएपनि पछि ८ अराजकतावादी मजदूर नेताहरुलाई फासी दिइयो । हेमार्केट नरसंहारपछि अमेरिकामा ट्रेड युनियन र मजदूर संगठनविरद्धको दमन बढ्दै गयो ।

त्यसको तीन वर्षपछि सन् १८८९ मा फ्रान्सको समाजवादी पार्टीले हेमार्केट नरसंहारको सम्झाना र ८ घण्टा कामको सुनिश्चितताका लागि शिकागोमा गरिएको आन्दोलनको सम्झानामा हरेक वर्ष मे १ लाई अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउने निर्णय गर्यो । शुरुमा केही बामपन्थी विचारका संगठनलेमात्र मजदूर दिवस मनाउने गरेको भएपनि सन् १९१७ मा रुसमा भएको साम्यवादी अक्टोबर क्रान्ति र क्रान्तिको प्रभावसँगै अन्तर्राष्ट्रिय मजदूर दिवस मनाउने प्रचलन विश्वभर फैलियो ।

सोही अनुसार मे १ का दिन अन्तर्राष्ट्रिय मजदूर दिवस हरेक वर्ष मनाउन थालिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ४८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०